घर निर्माण फेस्ट २०८२” मा १ सय ५० बढी स्टल रहने
आगामी पुसमा हुने “घर निर्माण फेस्ट २०८२” को देस्रो संस्करणमा १ सय ५० बढी स्टल प्रदर्शनीमा रहने भएका छन् । घर निर्माण फाउण्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा फेस्ट हुन लागेको हो । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायिले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पुर्याउन सक्नेछन् ।

“जे गर्छौं नेपालमै गर्छौं” भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रूपमा अवलोकन गर्ने अनुमान गरिएको छ । यो पटकको घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो । त्यस्तै दोस्रो आकर्षणका रूपमा “उल्टो घर लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ । यस्तै प्रदर्शनीका क्रममा नेपालमा त्यति धेरै प्रयोगमा नआएको ‘डोम हाउस’ को अवधारणा पनि प्रस्तुत गरिनेछ ।

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै पनि निर्माणको तयारी देखि निर्माणसम्पन्न नहुँदा सम्मका सबै चरणहरुको प्रत्यक्ष प्रदर्शनी गरिने छ । यस पटकको प्रदर्शनीमा विभिन्न ४० वटा इन्जिनियरिङ कलेजले तयार पारेका थ्री डी मोडलको प्रदर्शनी समेत हुनेछ । यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरूले प्रत्यक्ष रूपमा निःशुल्क रूपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग अन्तक्र्रिया गर्न पाउनेछन् ।

अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् । प्रदर्शनीमा सहभागी हुने विभिन्न ब्राण्डले ग्राहक लक्षित विशेष अफरहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन् । “घर निर्माण फेस्ट २०८२” मा यस पटक शिवम् सिमेन्ट, प्लम्बर पाइप, एसियन पेन्ट्स, सारा सेवा, पञ्चकन्या डिमिक्स लगायत निर्माण क्षेत्रमा नाम चलेका दजर्नौ कम्पनीको सहभागीता रहने छ । यस अघि फाउण्डेसनले गत भदौमा सफलतापूर्वक “घर निर्माण फेस्ट २०८२”को आयोजना गरेको थियो । प्रदर्शनीका क्रममा निर्माण सम्बन्धी मापदण्डबारे समेत जानकारी दिइने छ ।
